२५ वर्षदेखि प्रकाशन हुँदै आएको हिमाल खबर पत्रिका बन्द

काठमाडौं, जेठ १ । विगत २५ वर्षदेखि प्रकाशन हुँदै आएको ‘हिमाल खबरपत्रिका’ बन्द भएको छ । प्रकाशक कनकमणी दीक्षितले जेठको अंकसँगै प्रकाशन बन्द गरिएको जानकारी दिएका छन् ।
दीक्षितले प्रकाशकीय नोटमा भनेका छन्, ‘पाठकलाई दुखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अंकबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ ।’
बन्द गर्नुको कारण उनले खुलाएका छैनन् । तर, आर्थिक समस्याका कारण निरन्तरता दिन नसकिएको बताइएको छ ।
सुरुमा पाक्षिक रुपमा प्रकाशित हुने गरेको हिमाल बीचमा साप्ताहिक भएर अहिले मासिक रुपमा प्रकाशन हुँदै आएको थियो । कोभिडकालमा हिमालको प्रकाशन केही समय स्थगित गरिएकोमा २०७८ सालबाट पुनः प्रकाशन हुन थालेको थियो ।
पत्रिका बन्द गरिए पनि हिमाल डटकम भने यथावत चलिरहने दीक्षितले जानकारी दिएका छन् । पत्रिका बन्द भएसंगै त्यहाँ कार्यरत केही पत्रकारले भने रोजगारी गमाउने भएका छन् । हाल त्यहाँ करिब २० जना पत्रकार कार्यरत छ ।
प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार