भ्रष्टाचार नियन्त्रणमा जनताले गरेको खबरदारीमा सजग छु : प्रधानमन्त्री
काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले चालेका कदममा जनताबाट समर्थन पाएको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका काममा जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाएका आभार प्रकट गरे ।
अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन नसक्ने भन्दै उनले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताए ।
‘भ्रष्टाचारीहरूलाई कारबाही गर्न सरकारले खुट्टा नकमाओस् भनेर जनताले खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं’ उनले भने ।
आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरूदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको प्रधानमन्त्रीको भनाइ छ ।