बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना, स्थानीय खुशी
बाजुरा, जेठ ५ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा स्वामिकार्तिक खापर गाउँपालिकाको सुईजिउलामा केन्द्रमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको हो ।
खाद्यान्न बिक्री केन्द्रको स्थापनासँगै स्थानीयले एक दिन हिँडेर बोल्टो डिपो केन्द्रबाट खाद्यान्न किन्नुपर्ने बाध्यताको अन्त्य भएको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सर्वसाधारणलाई चामल हस्तान्तरण गरेर खाद्यान्न बिक्री केन्द्रको उद्घाटन गरिन् । बिक्री केन्द्रको स्थापना गर्दै सूचना अधिकारी ओलीले दुर्गम ठाउँको यस पालिकामा राज्यले छिटोभन्दा छिटो खाद्यान्न डिपो नै स्थापना गर्नु पर्ने बताइन् ।
यसभन्दा अघि स्वामिकार्तिक गाउँपालिका स्थानीयले घण्टौँ हिँडेर कोल्टी, पिलुचौरलगायतका बजारबाट महँगो मूल्यमा खाद्यान्न किन्नुपर्ने बाध्यता थियो ।
गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले स्थानीयलाई बजारभन्दा सस्तो र सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगको सहकार्यमा गाउँमै पहिलो पटक खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको जानकारी दिए ।
प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार