श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस


 


काठमाडौं, जेठ ७ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार, कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशतले बढाउन सिफारिस गरेको छ ।

समितिकी अध्यक्ष संगीता खड्काले आइतबार श्रमजीवी पत्रकारको न्यूनतम तलब वृद्धिको सिफारिस सहितको प्रतिवेदन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बुझाएकी हुन् ।

समितिले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको तलबमान मासिक ३४ हजार १२५ रुपैयाँ पुर्याउन सिफारिस गरेको छ । यसअघि उनीहरुको तलबमान मासिक २४ हजार ३७५ रुपैयाँ थियो ।

यसैगरी ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारी र कामदारको न्युनतम तलब १८ हजार रुपैयाँबाट २५ हजार २ सय रुपैयाँ कायम गर्न सिफारिस गरिएको छ ।

अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारहरुको न्युनतम तलब १७ हजार ६२५ रुपैयाँबाट २४ हजार ६७५ र तथा कर्मचारी र कामदारहरुको १५ हजार ६२५ बाट २१ हजार ८७५ रुपैयाँ कायम गर्न समितिले सिफारिस गरेको छ ।

यसैगरि समितिले दुर्गम जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने श्रमजीवी पत्रकार र कर्मचारीका लागि भने सिफारिस गरिएको पारिश्रमिकमा २० प्रतिशत थप गर्न पनि सिफारिस गरेको छ ।

पाँचौ तहको ३७ हजार ५ सय ३८ रुपैया र वरिष्ठ संवाददाता, भाषा सम्पाक, र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्