नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्त थप ३ दिन थुनामा रहने

काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । उनीहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।
संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ ।
जिल्ला सरकारी वकिल कार्यालयले ६० दिनभित्र मुद्दा दर्ता गर्न अध्ययनका लागि पर्याप्त समय हुने गरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरेको छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार