खातावालालाई थाहै छैन, बैंकबाट ९ लाख गायव

रौतहट, जेठ ८ । माछापुच्छ्र्रे बैंकको चन्द्रपुरस्थित शाखाबाट एक सेवाग्रहीको खाताबाट रकम हराएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख १ हजार रुपैयाँ उनलाई थाहै नदिई झिकिएको छ ।
यादवका अनुसार उनले बिहिबार १२ लाख २० हजारको तीववटा चेक क्लियरिङ्गको लागि बैंकमा जम्मा गरेका थिए । ९ लाख, २ लाख २० हजार र १ लाखको चेक उनले बिहिबार माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा क्लियरिङ्गको लागि हालेकोमा शुक्रबार दिउँसो २ः४० मा उनको खातामा सो रकम जम्मा भएको थियो । बैंकमा रकम जम्मा भएपछि आइतबार चन्द्रपुर शाखामा ८ लाखको चेक लिएर साट्न पुगेका यादवलाई बैंकका कर्मचारीले सो रकम बराबार खातामा नभएको जानकारी दिएपछि उनी झस्के ।
बैंकबाट आफ्नो रकम गायव हुँदा बैंकले कुनै जवाफदेहिता नेदेखाएपछि आक्रोशित स्थानीयले राति अबेरसम्म बैंक घेराउ गरेका थिए । आइतबार राति अबेर पीडित पक्ष र बैंकका स्थानिय प्रतिनिधिबीच सोमबार दिउँसो सो बैंकका केन्द्रिय प्रतिनिधी चन्द्रपुर आउने र पीडित पक्षको गुनासो सम्बोधन गर्ने सहमति भएपछि स्थानीय घर फर्किएको वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही यादवले बताए ।
उनले सोमबार आउने केन्द्रीय प्रतिनिधिहरुबाट पनि आफुहरुको माग पूरा नभए बैंकविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिए । बैंकलाई घटनाको छानबिन गर्न ५ दिन समय दिने, छैटौं दिनमा बैंकले पीडित खातावालाको खातामा अनधिकृत रुपमा झिकिएको रकम बराबर जम्मा गरिदिनुपर्ने, प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने लगायतका माग आफुहरुको रहेको उनले जानकारी दिए ।
माछापुच्छ्रे बैंकका अनुसार यादवको खाता नम्बर ७५००६५३८२८०००१४ मा शुक्रबार दिउँसो २ः४० १२ लाख २० हजार रकम जम्मा भएपछि दिउँसो २ः५५ बजेदेखि झिक्न सुरु गरिएको छ । बैंकका चन्द्रपुर शाखा प्रमुख रामजी दासका अनुसार यादवको खाताबाट खल्ती एप, सिटिजन बैंक, सानीमा बैंकमा रकम ट्रान्सफर गरिएको छ । यसरी ट्रान्सफर गरिएको रकम सिरहाको गोलबजार स्थित नविल बैंकका एटिमबाट निकालिएको देखिएको बैंकले जनाएको छ ।
यता पीडित यादव भने बैंकको लापरवाहीको कारण आफ्नो खाताबाट रकम हराएको दावी गर्दै आफ्नो हराएको पैसा बैंकले नै तिर्नुपर्ने बताउँछन् । उनले आफुले आफ्नो खाताबाट कसरी रकम हरायो भनेर बैंकलाई सोध्दा कुनै जवाफ नदिएको, बैंक स्टेटमेन्ट माग्दा पनि नदिएर झुलाएको, आफै खोज्नु हामीलाई मतलब छैन भनेर जवाफ दिएकाले बैंककै कर्मचारीको मिलोमतोमा रकम निकालिएको हुनसक्ने आशंका गर्दै बैंक कर्मचारीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले घटनाको जानकारी पाएलगत्तै प्रहरीले आफ्नो अनुसन्धान सुरु गरिसकेको जानकारी दिँदै चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार