उपचारबाट फर्किएपछि पहिलोपटक संसदमा बोले चन्द्र भण्डारी
काठमाडौं, जेठ १० । ग्यास सिलिण्डर लिक भइ भएको आगलागीबाट घाइते भएका चन्द्र भण्डारी उपचारबाट फर्किएपछि आज (बुधबार) पहिलोपटक संसदमा बोलेका छन् ।
उनी आज प्रतिनिधि सभा बैठकमा बोलेका हुन् । गत फागुन ३ मा आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा उनी घाइते भएका थिए। उनीसँगै घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ गतै नै निधन भएको थियो।
उनी भारतमा उपचारपछि नेपाल फर्किएका हुन् । आज संसदमा बोल्दै उनले जलनकै विषयमा वार्षिक सयौँले ज्यान गुमाउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
गत वर्ष एकसय १० जनाको मृत्यु भएको तथ्यांक उनले प्रस्तुत गरे । गाउँगाउँमा बिजुली, ग्यास पुगेको तर त्यसलाई कसरी प्रयोग गर्ने ? के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे ।
साथै उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने, उपचार गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए ।
प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार