आरोप लगाए बराबरको क्षतिपूर्ति माग्दै ढाकाकुमारविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल
काठमाडौं, जे ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल ढाकाकुमार श्रेष्ठविरूद्व मुद्दा दर्ता गर्ने भएका छन् ।
रास्वपा प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले २ करोड ८४ लाख रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको श्रेष्ठले आरोप लगाएपछि मुकुलले उनीविरूद्व मुद्दा दर्ता गर्ने भएका हुन् ।
श्रेष्ठले लगाएको आरोपले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै श्रेष्ठविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले यस आरोपले आफू र आफ्नो पार्टीको मानहानी भएको महसुस भएकाले अदालतमा मानहानीको मुद्दा दर्ता गर्न लागिएको बताए । ढाकाकुमारले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गर्दै मुद्दा दर्ता गर्ने मुकुलले बताएका छन् । अदालतले क्षतिपूर्ति दिलाएर उक्त रकम रास्कोट अस्पताललाई सहयोग गर्ने पनि बताएका छन् ।