नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपितहरुको जिल्ला अदालत काठमाडौंमा बयान शुरु
काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु भएको छ ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान शुरु भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।
प्रकरणमा मुछिएका ३० जनाविरुद्ध ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले आजदेखि १६ जनाको मात्र बयान हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।
इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ । इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ ।
बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।