Deshko News
१५ मंसिर २०८०, शुक्रबार

कोशी नामकरणको विरोधमा प्रदर्शन, ३० जना पक्राउ


 


विराटनगर, जेठ १४ । कोशी नामकरण खारेजीको माग राख्दै विराटनगरमा आन्दोलन चर्किएको छ । प्रदेशको नामाकरणपछि आज (आइतबार)पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको छ ।

आन्दोलन चर्किएपछि प्रहरीले प्रदर्शनमा उत्रिएका ३० जनालाई पक्राउ गरेको छ । प्रहरीले आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राईसहितलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् ।

गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्