उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट चल्नुपर्ने

काठमाडौं, जेठ १९ । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।
महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो ।
जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ ।
बैठकले निर्णय गरिसकेपछि पनि अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ ।
धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ ।
सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार