गोल्छा ग्रुप र इन्डियन आयलको लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना


 


काठमाडाैं, जेठ १९
नेपालमा सर्भो लुब्रिकेन्टको उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना हुने भएको छ ।

गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको हो ।

२०२४ को अन्त्यसम्ममा प्लान्ट तयार गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ । यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर हुने कम्पनीले जनाएको छ ।

आरम्भिक उद्योग स्थापना मात्र नभइ यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरणको परिकल्पना पनि गरेको छ ।

गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर शेखर गोल्छाले भारतको सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँग सहयात्राको शुभारम्भ भएको बताए । ‘यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने वृहत् योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं’ उनले भने ।

यो साझेदारीले क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा, आत्मनिर्भरता प्रवद्र्धन र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित हुने उनको भनाइ छ ।

‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस प्लान्टको स्थापना महत्वपूर्ण हुने उनले बताए । कम्पनीका अनुसार ऐतिहासिक सहकार्यले नेपालको विकास र समृद्धिलाई प्रोत्साहन गर्ने साझेदारीको नयाँ अध्यायको प्रेरणादायी शुरुवात गर्नेछ ।

गोल्छा समूह र इन्डियन आइलबीचको संयुक्त उद्यमले आगामी पुस्ताका लागि उज्यालो भविष्यको लागि मार्ग प्रदान गर्ने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्