रेल दुर्घटनाका मृतक र घाइतेका लागि क्षतिपूर्ति दिने घोषणा, मोदीले पनि दिने


 


काठमाडौं, जेठ २० । भारतको ओडिशामा शुक्रबार भएको रेल दुर्घटनामा ज्यान गुमाउनको संख्या बढ्दै गइरहेको छ । ज्यान गुमाउनेको संख्या करिब ३ सयको हाराहारीमा पुग्न थालेको छ । ९ सय भन्दा बढी घाइते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनास्थलमा मृतकको खोजी र घाइतेहरुको उद्दार कार्य भइरहेको छ । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिशाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन्।

यो दुर्घटनालाई भारतमा शताब्दीकै ठूलो रेल दुर्घटना मानिएको छ । यससँगै भारतका रेल मन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

वैष्णवले ट्वीट गर्दै भनेका छन, ‘ओडिशामा भएको यो दुर्भाग्यपूर्ण रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपुर्ति दिईनेछ।’

यससँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५०/५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्