ट्राफिकले गर्न थाल्यो अब लापसे परीक्षण
भैरहवा, जेठ २७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै ट्राफिकले यस्तो कदम चालेको हो ।
सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागु औषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यकामा चालकहरुले लागु औषध सेवन (लापसे)गरे नगरेको परीक्षण गरिएको हो ।
पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागुऔषध सेवन गरे नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताए ।
उनका अनुसार जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परीक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांस चालकहरुको परीक्षण गरेका छौ, केही शङ्कास्पद देखिएपछि किट मार्फत परीक्षण गरिएको उनले भने । परीक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागुऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले भने ।
विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारबाही हुने छ ।
ट्राफिक प्रहरीले अहिले परीक्षण गर्ने किटले ६ प्रकारको लागु औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनि किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसके पनि बेला बेलामामा भएको सीमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ ।
एक साता अघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागु औषध सेवन गरी सवारीसाधन चलाएको पाएपछि कारबाही गरेको थियो । कारबाहीमा पर्ने डरले सीमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरु सचेत हुँदै गएपनि पूर्ण रुपमा रोक्न सकिएको छैन ।
प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार