निजामती कर्मचारीलाई कार्यालय पोशाकमा टिकटक बनाउन रोक
काठमाडौं, जेठ २८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालय पोसाक, कार्यालयको सवारी साधन र कार्यालय हाताभित्र टिकटक नबनाउन निर्देशन दिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको र व्यक्तिगत प्रचारमा बढी लागेको भन्दै टिकटक बनाउन रोक लगाइएको हो ।
यसअघि कार्यालय पोसाकमा, कार्यालयको सवारी र कार्यालय हाताभित्र काम गरेको भिडिओ नबनाउन सुझाव दिए पनि कर्मचारीले अटेर गरेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशन नै दिइएको मन्त्रालयका प्रवक्ता एवं सह–सचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालय लगायत अन्य मन्त्रालयले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् ।
गुनासो सुन्न सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेको छ ।
कार्यालय गइसकेपछि कर्मचारीले आफ्नो जिम्मेवारी अन्तर्गतका काम गर्नुपर्ने र टिकटक बनाएर प्रचार गर्नुको कुनै तुक नभएकाले पनि रोक लगाउनु आवश्यक रहेको भट्टराईले बताए ।
यदि निजामती कर्मचारीले कार्यालय पोसाक, सरकारी सवारी साधन र कार्यालय हाताभित्र टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको उनले बताए ।
प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार