सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरविरुद्ध मुद्दा दायर गर्ने तयारी
काठमाडौं, असार १० । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
डीएसपी केसीमाथिको छानबिन अन्तिम चरणमा पुगेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा व्यवसायीको ३५ तोला सुन ‘लुटेको’ आरोप लागेपछि डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए।
रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो।
लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनको क्वार्टरबाट बरामद भएको थियो। सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले पुस १४ गते नै उनलाई निलम्बन गरेको थियो।
प्रकाशित मिति: १० असार २०८०, आइतबार