नारायणगढ–मुग्लिन सडक २४ घण्टादेखि ठप्प


चितवन, असार १५ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प भएको २४ घण्टादेखि ठप्प छ ।
नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलाआडमा बिहीबार दिउँसो १ बजेतिर पहिरो खसेर बाटो अवरूद्ध भएको हो ।
पहिरो सफा गर्न अझै दुई तीन घण्टा लाग्ने डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । सडकभन्दा ३०÷४० मिटर माथिबाट ढुंगाहरू आएर सडकमा लगातार बजारिने गरेका कारणले पहिरो हटाउन समस्या भएको उनले बताए।
चितवनमा पानी खासै नपरेको भएपनि सुख्खा जस्तो पहिरो खसिरहेको छ । बिहीबारसम्म दुईवटा मेसिनले काम गरिरहेकामा आजबाट दुइटा मेसिन थपिएको पौडेलले बताए ।
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउन आठ वर्षअघि काम सुरू भएसँगै यो सडकमा पहिरोको समस्या सुरू भएको हो ।
प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार