नेपाल एयरलाइन्सले माग्यो ३० एयरहोस्टेस, ट्याटु देखिए ‘नो इन्ट्री’


काठमाडौं, साउन ४ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एकै पटक ३० जना एयरहोस्टेसको माग गरेको छ ।
नेपाल एयरलाइन्सले पाचौं तहमा विमान परिचारिका (एयरहोस्टेस) पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
करार सेवामा भर्ना हुने उम्मेदवारको योग्यता न्यूनतम १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने उल्लेख छ ।
१८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने शर्त तोकिएको छ । उचाइ कम्तीमा ५ फिट २ इन्च हुनुपर्ने गरी तोकिएको छ ।
युनिफर्म लगाउँदा ट्याटु देखिन नहुने शर्त छ । अशक्तता/अपांगता नभएका उम्मेदवारले मात्र यस पदमा प्रतिपर्धा गर्न पाउने नेपाल एयरलाइन्सको सूचनामा उल्लेख छ ।
व्यक्तित्व परीक्षण, लिखित परीक्षा, शारीरिक र स्वास्थ्य परीक्षण र अन्तर्वार्ताका माध्यमबाट उनीहरुलाई छनोट गरिने भएको छ ।
परीक्षा दस्तुर १ हजार रुपैयाँ तोकिएको छ । दरखास्त दिने मिति १४ साउन र दोब्बर दस्तुर तिरेर २१ साउनसम्म दिन सकिने गरी तोकिएको छ ।
प्राधिकरणबाट इजाजत पाएपछि ५ वर्ष सेवा गर्न पाइने निगमनले जनाएको छ ।
प्रकाशित मिति: ४ श्रावण २०८०, बिहिबार