प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, साउन १० । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालका अनुसार बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।
यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्नेछन् ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार