गाउँकै साथीबाट कार्यकक्षमै कुटिए पशु विकास शाखा प्रमुख


काठमाडौं, साउन ११ । सल्यानको त्रिवेणी गाउँपालिकाका पशु विकास शाखा प्रमुख वसन्त रावत आफ्नो कार्यकक्षमै कुटिएका छन् ।
त्रिवेणी, ६ कोस पिपलका चिनजानकै साथीभार्इ जनक बुढाथोकीले रावतलाई आक्रमण गरेका हुन् । आफू काममा व्यस्त रहेका बेला बुढाथोकीले आक्रमण गरेको उनले बताएका छन् ।
उनले आफूलाई मुक्का प्रहार गर्दै चस्मासमेत फुटाइदिएको बताए । बुढाथोकीको आक्रमणबाट उनको टाउकोमा टुटुलो उठेको, एउटा आँखामा निलडाम बसेको र शरीरका अन्य भागमा पनि चोट लागेको छ । बुढाथोकीले आफूलाई किन आक्रमण गरे भन्नेबारे आफूले भेउ नै पाउन नसकेका बताएका छन् ।
शाखा प्रमुख रावतमाथि कार्यकक्षमै कुटपिट हुँदा अन्य कर्मचारी प्रहरीलाई खबर गरेपछि बुढाथोकीलाई पक्राउ गरिएको छ । रावतले बिहीबार प्रहरीमा पुगेर आफूमाथि आक्रमण गर्ने बुढाथोकीविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएका छन् ।
प्रहरी हिरासतमा रहेका बुढाथोकीले आफू गाउँ घरकै भाइ तथा पशु शाखा प्रमुख रावत छ भनेर भेट्न भनेर गएपनि आफूलाई त्यहाँ वास्ता नगर्दा रिस उठेपछि कुटपिट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
रावतमाथि कार्यकक्षमै बिनाकारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार