६ वटा गरिब देशहरुहरूलाई निःशुल्क अन्न दिने पुटिनको घोषणा, अमेरिकाको ‘अब्जेक्सन’

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सेन्ट पिटर्सबर्गमा भएको रुस–अफ्रिका शिखर सम्मेलनको पहिलो दिन ६ वटा गरिब अफ्रिकी देशहरूलाई निःशुल्क अन्न उपलब्ध गराउने घोषणा गरेका छन् ।
शिखर सम्मेलनमा सहभागी १७ अफ्रिकी राष्ट्र प्रमुखहरूको भेलामा उनले यस्तो घोषणा गरेका हुन् । मस्कोले संयुक्त राष्ट्र समर्थित ब्ल्याक सी ग्रेन इनिसिएटिभको नवीकरण अस्वीकार गरेको केही दिनपछि अफ्रिकी देशहरूका वरिष्ठ अधिकारीहरू सहभागी सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।
पुटिनले शिखर सम्मेलनमा बुर्किना फासो, जिम्बाब्वे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियालाई २५०००÷५०००० टन अनाज निःशुल्क उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो अन्न सम्झौताले एक वर्ष भन्दा बढी समयसम्म लगभग ३३ मिलियन टन अन्नलाई युक्रेनी बन्दरगाहहरू छोड्न अनुमति दिएको थियो । जसले विश्वव्यापी खाद्य मूल्यहरू स्थिर गर्न र अभावलाई रोक्न मद्दत गर्यो।
तर, अब खाद्यान्न सम्झौता परित्याग गरेपछि पुटिनले खाद्यान्नलाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । खाद्यान्नको मूल्य बढ्ने र सबैभन्दा बढी प्रभावित ठाउँहरूमा भोकमरी बढ्ने विश्वव्यापी डरको बिचमा उनले यस्तो घोषणा गरेर अफ्रिकालाई आफ्नो पक्षमा पार्ने कोसिस गरेको बताइको छ ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सेन्ट पिटर्सबर्गमा रहेका अफ्रिकी राष्ट्र प्रमुखहरूलाई पुटिनमाथि दबाब दिन आग्रह गरेका छन्।
पुटिनको निःशुल्क अन्नको घोषणा बारे प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले केही देशहरूलाई दिएको मुट्ठीभर चन्दाले अन्न सम्झौताको अन्त्यबाट हुने ठूलो प्रभावलाई सुधार नगर्ने बताएका छन् ।
प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार