निर्माण व्यवसायीले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने


काठमाडौं, साउन १३ । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिने भएको छ ।
निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग सहित आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिन लागेको हो ।
महासंघले साउन १५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि एक घण्टा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ ।
त्यस्तै महासंघले प्रधानमन्त्री कार्यालय सहित गृह र विकासे मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाइसकेको छ । महासंघ मातहतका सात प्रदेश महासंघहरूले मुख्य मन्त्रीहरूलाई, प्रदेश स्तरीय राजनीतिक दलका प्रतिनिधिहरूलाई र ७७ जिल्ला संघहरूले पनि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइसकेका छन् ।
महासंघले अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रिम आयकर र मु.अ.करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग अघि सारेको छ ।
प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार