Deshko News
१६ आश्विन २०८०, मंगलबार

एक वर्षमा ५६ हजार बढी आपराधिक घटना, कुन प्रदेशमा कति ?



काठमाडौं, साउन १७ । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।

गएको आर्थिक वर्ष २०७९÷८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फस्र्यौट भएको छ भने २३ हजार बढी मुद्दा फरस्यौंट हुन बाँकी छ । त्यसको अघिल्लो आव २०७८÷७९ मा भने ४६ हजार नौ सय दुई वटा घटना दर्ता भएका थिए ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आवभन्दा गएको आवमा बढेको बताए । उनका अनुसार सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा नौ हजार बढी र कोशी प्रदेशमा आठ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार सिआइबीमा ४३, काठमाडौँ उपत्यकामा १६ हजार छ सय २७, कोशी प्रदेशमा आठ हजार सात सय २०, मधेस प्रदेशमा नौ हजार आठ सय ४४, बागमती प्रदेशमा चार हजार छ सय ७९, गण्डकी प्रदेशमा चार हजार एक सय ७७, लुम्बिनी प्रदेशमा छ हजार नौ सय ९७, कर्णाली प्रदेशमा एक हजार सात सय २९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय तीन उजुरी दर्ता भएको छ ।

प्रवक्ता कडायतले भने, “अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, त्यही बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ ।” पैसा नभएको बैंकका चेक दिएको उजुरी परेको सङ्ख्या ह्वात्तै बढेको उनले बताए । प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार एक सय ३५ घटना दर्ता भएको छ ।

यस्तै ज्यानसम्बन्धीका कसुर नै आठ हजार बढीको भएको छ । झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै तीन हजार छ सयभन्दा बढी भएको छ भने छ हजार बढी सङ्गठित तथा आर्थिक अपराधका छन् ।

त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी चार हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी दुई हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News