अस्पतालबाट बेपत्ता शिशुको बिक्री गरेको अवस्थामा उद्धार, डाक्टर पक्राउ
विराटनगर, भदौ ५ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुको उद्धार गरिएको छ ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट मंगलबार शिशुको उद्धार गरेको हो । शिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको जनाएको छ ।
शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीले जनाएको छ ।
आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा शिशु मोरङ कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो ।
शिशुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।
बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ ।
प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार