बामपन्थी नेता टेकनाथ बरालको निधन
पोखरा, भदौ १२ । मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधन भएको छ । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।
पुराना वामपन्थी नेता बरालले राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको स्थापना समेत गरेका थिए । विसं १९९६ मा बैदाममा जन्मिएका बरालले आठ कक्षा पास गरेर शिक्षक तालिम लिएपछि विभिन्न विद्यालयमा पढाएका थिए ।
पञ्चायतकालमा उनी राज्य विद्रोहको तयारी गरेको अभियोगमा पक्राउसमेत परेका थिए । तीन महिना बन्दी भएर तारेखमा छुटेका उनी पछि बनारस गएर बसे । जहाँबाट उनले मेट्रिक पास गरे । आईए पढ्दै गर्दा पुष्पलालले उनलाई कम्युनिस्ट पार्टीको सदस्य बनाएका थिए ।
बनारस रहँदा बरालले विद्यार्थी संगठनमा रहेर काम गरेका थिए । २०२५ सालतिर उनी पुनः नेपाल फर्किए । तत्कालीन सरकारले उनलाई राज्यविरुद्ध प्रकाशन गरेको भन्दै तीन वर्ष जलमा राखेको थियो ।
प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार