कलाकार रसलमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप, चार महिला आए अगाडि

लण्डन । कमेडियन तथा कलाकार रसल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
ब्रान्डले चर्चाको शिखरमा रहेको सात वर्षमा यी अपराधहरु गरेको आरोप लगाइएको हो ।
द सन्डे टाइम्स, द टाइम्स र च्यानल फोर गरेको संयुक्त अनुसन्धानमा चार जना महिलाले ब्रान्डमाथि सन् २००६ र २०१३ को बीचमा यौन दुर्व्यवहारको आरोप लगाएका हुन् । जतिबेला उनी चर्चाको शिखरमा थिए ।
एक महिलाले ब्रान्डले उनलाई लज एन्जलिसको घरमा बलात्कार गरेको आरोप लगाएकी छन् । दोस्रो महिलाले ब्रान्डले उनलाई १६ वर्षको उमेरमा दुर्व्यवहार गरेको बताएकी छन् ।
अर्की महिलाले ब्रान्डसँग काम गर्दा उनले लस एन्जलिसमा यौन दुर्व्यवहार गरेको र चौथी महिलाले पनि ब्रान्डले यौन दुर्व्यवहार र शोषण गरेको आरोप लगाएकी छन् ।
ब्रान्डले भने आफूमाथि लगाइएको सबै आरोपलाई खण्डन गर्दै आफ्नो सम्बन्ध जहिले पनि सहमतिमा भएको जिकिर गरेका छन् ।
–बीबीसी
प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार