Deshko News
१३ आश्विन २०८०, शनिबार

पोखराका दुई वडामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा



कास्की, असोज १ । पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन् ।

स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ । दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने वडा नं १६ का वडाध्यक्ष तिमिल्सिनाले बताए ।

उनका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्नेछ । “नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ ।

यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ”, वडाध्यक्ष तिमिल्सिनाले भने । पोखरा यी दुई वडा बजारको उत्तरी क्षेत्रमा तथा विशेषगरी ग्रामीण भूगोलमा पर्दछन् ।

नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने जनाइएको छ ।

१६ नंं वडा कार्यालयले यसअघिदेखि नै वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथमा आमा पोषणका लागि रु एक हजार बराबरको सहयोग प्रदान गर्दै पनि आइरहेको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News