काठमाडौंबाट गरिब नभएर गरिबीलाई लखेटौं : ओली


काठमाडौं, असोज ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई एक्कासी हटाउन नहुने बताएका छन् ।
आज (मंगलबार) सामाजिक सञ्जालमा फुटपाथ व्यापारको एक फोटोसहित स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्दा खल्बली हुनु स्वभाविक र वैज्ञानिक भएको समेत उनले बताएका छन् ।
अध्यक्ष ओलीले फुटपाथ पैदल यात्री सहज रुपमा हिँडुन भनेरै बनाएको भएता पनि परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजारा व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने कुरा रहेको बताएका छन् ।
उनले फुटपाथ व्यापार परम्परादेखि चलिआएको उल्लेख गर्दै नेवारी व्यापार संस्कृतिको अंशसमेत बताएका छन् । असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि फुटपाथ व्यापार चलिआएको र पुराना किताब, ईतिहास र कथाहरुमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पाइने ओलीको भनाई छ ।
महानगरले फुटपाथ व्यापारीलाई व्यवस्थापन नगरेरै हटाएपछि व्यापारीहरुले यसको चर्को विरोधसमेत गरेका थिए । यही विषयलाई लिएर अभियन्ता ईः लगायतले महानगर कार्यालयअगाडी उभिएर आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार