सहुलियत पसलमा ५० रुपैयाँसम्म छुट पाइने
काठमाडौं, असोज ९ । सरकारले यही असोज २१ गतेदेखि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।
सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार