सुन तस्करी प्रकरण : प्रतिवादीको बयान सकियो, भोलिदेखि थुनछेक


काठमाडौं, असोज ९ । ६० किलो ७ सय ग्राम सुन तस्करी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका २६ जना प्रतिवादीहरुको बयान सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले बताए । उनका अनुसार अब बुधबारबाट थुनछेक बहस सुरु हुनेछ ।
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ, तिब्बतीयन मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तीन जना फरार सहित २९ जनालाई प्रतिवादी करार गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार