Deshko News
१६ मंसिर २०८०, शनिबार

त्रियुगाका पूर्व मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


 


काठमाडौं, असोज १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन मेयर बलदेव चौधरीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित मिलेमतोगरि राजस्वमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मेयर चौधरीसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको ६२ लाख ९१ हजार २०४ रुपैयाँ र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैर कानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको अख्तियारको आरोप छ ।

राजस्व अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैयाँ चौरानब्बे पैसा चुहावट भएको पाइएको अख्तियारले जनाएको छ । उक्त कार्यमा एकासी लाख पैँतीस हजार तीन सय बयासी रुपैयाँ राजस्व चुहावट गरेकोले चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ ।

उनीसँग एकासी लाख पैँतीस हजार तीन सय बयासी रुपैयाँ बिगो, चुहावट भएको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना माग गर्दै आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

यस कार्यमा निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार समेत संलग्न रहेको पाइएको छ । उनले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको पाइएको अख्तियारले जनाएको छ ।

उनीसँग पनि अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । उक्त राजस्वको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ उनीबाट असुल गर्नु पर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्