पर्यटन दिवसमा रामारोशनमा रमाए ४६ देशका पर्यटक


 


अछाम, असोज ११ । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले पर्यटन दिवस मनाएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सांस्कृतिक कार्यक्रममा उनीहरु सभागी भएका हुन् ।

‘वर्ल्ड रेन्बो फेमली’ नामक समूह अन्तर्गत रामारोशन पुगेका पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ आएका छन् ।

रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए ।

पर्यटकहरुलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिइएको उनले बताए । रामारोशन आएका विदेशी पर्यटकहरु खुला चौरमा टेन्ट टाँगेर बसेका छन् ।

रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ ।

रामारोशनमा दर्जनौँ समथर फाँटहरु, फूलहरुलगायत यहाँका आकर्षण हुन् । पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि यहाँ देख्न सकिन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्