एकै पटक ७ सय बढी भारतीय धार्मिक पर्यटक नेपालमा


काठमाडौं, असोज ११ । विश्व पर्यटन दिवसको अवसरमा एकै पटक ७२३ जना भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् ।
नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि उनीहरु नेपाल आएका हुन् । लुम्बिनीमा जानकी मन्दिरको दर्शनीपछि असोज ९ गते उनीहरु मंगलबार काठमाडौं पुगेका छन् ।
भारतीय धार्मिक पर्यटकहरुले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् ।
भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभल मार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरु लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौं उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरुको रहेको छ ।
यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् ।
भारतीय धार्मिक पर्यटक व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरुमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार ७२३ भारतीय पर्यटकहरुमा भारतबाट अमेरिका लगायतमा गएर बस्ने नागरिकहरु रहेको बताए ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा ४ लाख ७६ हजार ४८१ पर्यटकको आगमन भइसकेको छ । पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । जसमध्ये भारतीयको संख्या २६ हजार ६६५ छ ।
यो महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएका छन् ।
प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार