होस्टेलमा बालक मृत भेटिएपछि वीरेन्द्रनगरमा तनाव, प्रहरीद्वारा अश्र ग्याँस प्रहार


 


सुर्खेत, असोज १३ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका– १ का ८ बर्षीय सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत बालक होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन ।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।

आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडसमेत गरेका छन् ।

भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले विद्यालय संचालक समितिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्