एमाले कोशी प्रदेशमा सहमती जुटेन, चुनाव हुने पक्का
काठमाडौं, असोज १३ । नेकपा एमालेको कोशी प्रदेशको नेतृत्व चयनका लागि भएको अधिवेशनमा सहमति नजुटेपछि मतदान हुने निश्चित भएको छ ।
घनश्याम खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि दुई नेताले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो ।
अध्यक्षमा खतिवडा र विनोद ढकालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । अधिवेशनमा शनिबार मनोनयन र आइतबार मतदान गर्ने कार्यतालिका छ ।
प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए ।
सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास असफल भएपछि दुवै नेताले चुनावी अभियान सुरु गरेका छन् । भीम आचार्यबाहेक प्रदेशका अन्य स्थायी कमिटी सदस्य खतिवडाको पक्षमा देखिएका छन् ।
खतिवडा र ढकाल एमालेको पाँचौं जिल्ला अधिवेशनमा मोरङ जिल्ला अध्यक्षमा भिडेका थिए । त्यतिबेला ओली समूहका ढकालले माधव नेपाल समूहका खतिवडालाई पराजित गरेका थिए ।
शुक्रबार अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले केही नभन्ने तर नेताको इशारा बुझ्न आग्रह गरेका थिए ।
प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार