कैद मिनाहाको जस अपजसको भागी सरकार नै हो : राष्ट्रपति पौडेल


काठमाडौं, असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहाको जस अपजसको भागिदार सरकार नै रहेको प्रष्ट पारेका छन् ।
संविधान दिवसका अवसरमा कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण गराउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको उनले स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरे ।
उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण समेत उनले गराए ।
रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले सरकारको ध्यानाकर्षण गराईदिनका लागि आग्रह गर्न राष्ट्रपति समक्ष आएको बताएका थिए ।
संविधान दिवसका दिन माफी पाउनेमा तरुण दलका पूर्वनेता रिगल भनिने योगराज ढकालसमेत छन् । बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा अदालतबाट उनले जन्मकैदको सजाय पाएका थिए । रिगललाई रिहा गरेपछि सरकारको आलोजना भएको थियो ।
प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार