पोखरीमा फेला परेको शवको पहिचान, बालिकासँगको प्रेमका कारण हत्या


 


जनकपुरधाम, असोज १५ । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा पोखरीमा बोराभित्र फेला पारेको शवको पहिचान भएको छ ।

प्रहरीका अनुसार उक्त शव स्थानीय मोहम्मद समिउल्लाका छोरा १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको हो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोराभित्र फेला परेको शव अजिमकै रहेको परिवारका सदस्यले पुष्टि गरेका हुन् ।

भदौ २१ गते दिउँसो कृष्ण अष्टमीको दिन गाउँमा लागेको मेला हेर्न अजिम घरबाट निस्केका थिए । साथीहरुलाई आफू प्रेमिका भेटेर आउने भनेका अजिम त्यसै बेलादेखि अजिम बेपत्ता भएका थिए ।

घर परिवारले तेस्रो दिन प्रहरीलाई खबर गरेपछि शुक्रबार पोखरीमा शव फेला परेको थियो । शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार खोजी गरेको थियो ।

त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिङ भेटियो । रिङ फेला परेपछि पोखरीको पानी घटाइयो । त्यसपछि एउटा बोरा फेला पर्‍यो ।

भोलिपल्ट शनिबार बिहान रिङको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

शव पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । युवकको हत्या गरेको घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार हत्यामा संलग्नको आरोमा स्थानीय बिना यादव, ३४ वर्षीय रामप्रगास यादव, छिमेकी ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार हत्या भएका अजिमले गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीबाट एसईई दिएका थिए ।

उनी त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि प्रेममा रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । सोही कारण उनको हत्या गरिएको आशंका प्रहरीको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्