Deshko News
१४ मंसिर २०८०, बिहिबार

नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी, अवस्था सामान्य बन्दै


 


नेपालगन्ज, असाेज १७
धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् ।

हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।

मंगलबार भएको झडपमा तीनजना सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।

नेपालगन्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपीन आर्चायले एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्