टिस्टा नदीमा आएको बाढीमा परी सेनाका २३ जवान बेपत्ता


काठमाडौंं । भारतको सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् ।
पानीको बहावसँगै बगेको आशंका गरिएका उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अचानक आएको बाढीले सेनाका केहि सवारी साधन समेत डुबाएको समाचारमा उल्लेख छ ।
बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको बताइएको छ ।
जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न निर्देशन दिएको छ ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्गले बाढी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका छन् ।
प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार