एमाले कोशी प्रदेशको नयाँ नेतृत्वद्वारा शपथग्रहण


विराटनगर, असोज १७ । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरे । एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए ।
खतिवडाले ५१२ मत पाएका थिए भने ढकालले ४३० मत पाए । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका थिए ।
अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटी बनेको छ ।
प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार