चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट छैन : मन्त्री ज्वाला


 


काठमाडौं, असोज १७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव रहेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दशैं लक्षित सडक मर्मत, सम्भारको काम गर्न सहज नभएको बताएका हुन् ।

उनले बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको बताए ।

दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको उनले बताए ।

मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए ।

मन्त्रीको भनाईपछि बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भन्न गैरजिम्मेवारपन भएको आरोप लगाए । उनले यात्रुहरुलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सचेत गराए ।

सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गरे ।

उनले एउटै परियोजनामा अर्व बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्