इजरायल–प्यालेस्टाइन् द्वन्द्व : अहिलेसम्म ४५० बढीको मृत्यु


काठमाडौं । इजरायल र प्यालेस्टानबीचको युद्धमा परी अहिलेसम्म ४ सय ५० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको हो ।
इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन् ।
इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ । विभिन्न शहरहरूबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन् ।
इजरायली अधिकारीहरूले ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्याएको बताएका छन् । हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन् ।
उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन् । शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न शहरमा आक्रमण गरेका थिए ।
इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो । यसलाई इजरायलमाथि ५० वर्षयताकै ठूलो आक्रमण रहेको बताइएको छ । एजेन्सी ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार