चार जनाको हत्या गर्ने सञ्जयको बयानले हैरान प्रहरी, गरियो ‘ब्रेन म्यापिङ’
काठमाडौं, असोज २१ । काठमाडौंको गैह्रीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या आरोपी सञ्जय भण्डारीको बयानले हैरान भएको प्रहरी अब उनको ‘ब्रेम म्यापिड’ गरेको छ ।
हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका छन् ।
आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिम सहित ‘ब्रेन म्यापिङ’ केन्द्र स्थापना गरेको छ ।
ब्रेन म्यापिङबाट आरोपितको मानसिक अवस्थाको बारेमा थाहा हुन्छ । पोलिग्राफ गराउन सम्भव नभएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गरेको हो । पोलिग्राफ गर्दा आरोपीसँग प्रश्नोत्तर गरेर ढाँटेको पत्ता लगाइन्छ । तर, सञ्जय बोल्न नसक्ने हुनाले उनको ब्रेन म्यापिङ गरिएको बताइएको छ ।
सञ्जय भण्डारीले भदौ २९ मा राति सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार