तलब खुवाउन नसकेपछि बीर अस्पतालका कर्मचारी हटायौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, असोज २३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि बीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाइएको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकै पटक सेवाबाट हटाएको थियो । साथै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए ।
स्वास्थ्यमन्त्री बस्नेतले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलीएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने बताए ।
प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार