नेपाल लाइफ क्यापिटलको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, असोज २३ । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने उद्देश्यका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा गत शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्वबारे प्रकाश पारेका थिए ।
उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पु¥याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए ।
त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा प्रस्तुति दिए । उनले शेयर बजारको महत्व, लगानीका थप क्षेत्रलगायतका बारेमा बताए । कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र पनि भएको थियो ।
सहभागीहरुको प्रश्नको जवाफ नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले दिएका थिए । यसबाहेक उनले सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी गराए ।
सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो ।
करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्नेबारे जानकारी नरहेको पाएको थियो ।
नेपाल लाइफ क्यापिटलले ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार