परराष्ट्रमन्त्री साउदले गरे इजरायली विदेशमन्त्री कोहेनसँग टेलिफोन वार्ता


 


काठमाडौं, असोज २३ । परराष्ट्रमन्त्री एनपी साउदले आज (मंगलबार) इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे ।

आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन र सम्पर्कविहीन रहेका व्यक्तिको पनि खोजीका लागि पनि इजरायल सरकारसँग उनले आग्रह गरे ।

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए ।

‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरुको विवरण संकलन गरिरहेका छौँ। पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उनले भने ।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए ।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्