कैलाली कांग्रेसमा विधिको कुरा उठाउने उपसभापति बडुवालमाथि नै कारबाही प्रयास


 


धनगढी, असोज २५ । नेपाली कांग्रेस कैलालीले गएको साउन २३ गते युवा नेता लोकराज पाण्डे ‘आगो’ र क्षेत्र नम्बर ४ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई कारबाही गर्‍यो ।

गेटा मेडिकल विश्वविद्यालय स्थापनाका लागि आन्दोलनको नेतृत्व गरिरहेका आगोलाई पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको भन्दै कारबाही गरियो ।

उनलाई जिल्ला पार्टी सभापति नारायण भट्टले अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र सार्वजनिक गरे ।

यस्तै, त्यसैबेला कारबाही गरिएका कार्कीलाई पनि पार्टीको हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्य नरहने गरी कारबाही गरिएको बतायो।

उनीहरूलाई कारबाही गरेपछि कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले असमति जनाए। कुनै छलफल र सल्लाहबिना कारबाही गरेको भन्दै उनले आपत्ति जनाए ।

उनले त्यसबेला फेसबुकमा लेखेका छन्, ‘यो निर्णयमा मेरो सहमति छैन। यो विषयमा मलगायत जिल्ला कार्यसमिति, कार्यसम्पादन समिति र पदाधिकारी कसैसँग पनि सल्लाह भएको छैन। बिनासल्लाह, बिनाआधार, बिनाप्रमाण र बिनातथ्य कसैसँग पूर्वाग्रह राखेर गरिने निर्णय पार्टीको निर्णय मानिने छैन।’

बडुवालले उपसभापतिको हैसियतमा पार्टीको लेटेरप्याड उक्त कारबाहीको विरोध गर्दै त्यसमा आफ्नो सहमति नरहेको बताए ।

उक्त कारबाहीको पार्टीकै नेता कार्यकर्तालगायतबाट नै विरोध भएपछि १३ दिनपछि अर्थात भदौ ६ गते उनीहरूको कारबाही फुकुवा गरियो ।

तर उक्त कारबाही विधि बिधान र छलफल नगरी गरिएको भन्दै असहमति जनाउने उपसभापति बढुवाललाई भने अहिले कारबाहीका लागि सिफारिस गरिएको छ ।

पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै जिल्लाको अनुशासन समिति संयोजक सन्तोष मुडभरीले बडुवाललाई कारबाहीका लागि प्रदेश समितिमा सिफारिस गरेका छन् ।

उक्त सिफारिसका आधारमा प्रदेशको अनुशासन समितिले किन कारबाही नगर्ने भनेर उपसभापति बडुवाललाई स्पष्टीकरण सोधेको छ । बडुवालले पनि अनुशासन समितिका संयोजक लोकराज अवस्थीलाई स्पष्टीकरण बुझाएका छन् ।

जिल्लाले कारबाही गरेका व्यक्तिहरूको कारबाही फुकुवा गरिसक्दा पनि अगाडि कारबाहीको विरोध गर्ने उपसभापति बडुवालाई भने अहिले कारबाहीको छडी चलाउन खोजिएको हो ।

उपसभापति बडुवालले माथिकै निर्देशनमा पूर्वाग्रही तरिकाले आफूलाई कारबाही गर्न खोजिएको बताएका छन् । ‘मलाई गगन गुटको मान्छे भनेरै कारबाही गर्न खोजिएको छ,’ उनले भने, ‘यो सबै कसले र किन गर्न लगाइरहेको छ भन्ने पनि थाहा छ ।’

जिल्ला पार्टी सभापति र प्रदेश अनुशासन समिति संयोजक अवस्थी पनि माथिकै निर्देशनको पलना गर्दै आफूलाई कारबाही गर्नका लागि बाध्य भइरहेको बडुवालको भनाइ छ ।

उनले पार्टीको उपसभापतिको हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गर्न पाउनु आफ्नो अधिकार भएको समेत बताएका छन् । ‘म कांग्रेस कैलालीको निर्वाचित उपसभापति हुँ, मैले लेटरप्याड प्रयोग गर्न पाउँछु,’ उनले भने, ‘मैले जे कुराको विरोध गरेको थिएँ त्यो समाधान भइसकेको अवस्थामा अहिले मलाई लेटरप्याड दुरुपयोग गरेको बाहाना पारेर कारबाही गर्न खोजिँदैछ ।’

बडुवालले बरू तत्कालीन समयामा विधान विपरीत नेता कार्यकर्तालाई कारबाही गर्ने जिल्ला पार्टी सभापति नै कारबाहीको भागिदार हुनुपर्ने बताए । पार्टी सभापतिलाई बचाएर आफूलाई कारबाही गर्न अदृश्य शक्ति लागिरहेको उनको आरोप छ ।

काग्रेस प्रदेश समितिका कार्यबाहक सभापति एवम् अनुशासन समिति संयोजक अवस्थीले बडुवालले पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै कारबाहीका लागि प्रदेशमा सिफारिस भएको बताए । उनले बडुवालले पार्टी कार्यालयमा अभिलेख समेत नराखेर लेटरप्याडमा चलानी नम्बर राखी दुरुपयोग गरिएको देखिएको बताए ।

उनले अहिले बडुवालालाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त भएको र अध्ययन भैरहेको जानकारी दिए । कारबाही गरियो र गर्न लागिएको भनेर भएको हल्लामा कुनै सत्यता नभएको पनि उनले बताए । ‘अहिले बडुवालले दिएको स्पष्टीकरणको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘तर बडुवाललाई कारबाही गर्नका लागि बैठक बस्दैछ वा गरिदैछ भनेर हल्ला फिजाइएको छ । त्यस्तो भएको छैन ।’

उनले स्पष्टीकरण अध्ययन पश्चात कारबाही गर्ने वा नगर्ने भन्नेबारे प्रदेश समितिले पछि निर्णय लिने प्रदेश अनुशासन समिति संयोजक अवस्थीले बताए ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्