Deshko News
१२ मंसिर २०८०, मंगलबार

मन्त्रीले नै पाेखे आफ्नै सरकारको कामसँग सन्तुष्ट


 


मकवानपुर, असोज २५ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारका काम प्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबार हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशीले आम नागरिकहरू सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताए ।

उनले सरकार र सरकारी निकायबाट प्रवाह हुने सेवाका विषयमा कर्मचारीहरू पनि जिम्मेवार ढङ्गबाट अघि बढ्नु पर्ने बताए । कर्मचारीहरूले सरकारका निर्णयलाई सही र सरल ढङ्गबाट कार्यान्वयन गराउन नसक्दा समस्या भएको उनको भनाइ छ ।

अस्पताल भित्र डाक्टरहरू असुरक्षित हुँदा सेवामा नै प्रभाव परेको भन्दै सो समस्या समाधानका लागि सरकारले काम गरिरहेको उनले बताए ।

चिकित्सकहरूले उच्च मनोबल सहित काम गर्न आग्रह गर्दै मन्त्री जोशीले चिकित्सकको सुरक्षामा सरकार प्रतिबद्ध रहेको र त्यसका लागि जिल्लामा सुरक्षा तथा अनुगमन समिति गठन भएको उनले बताए ।

नागरिकहरूको गुनासो आउने वातावरण अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालहरूलाई व्यवस्थित बनाउन र प्रादेशिक अस्पतालको सेवालाई उत्कृष्टता प्रदान गनेतर्फ ध्यान दिन उनले आग्रह गरे ।

हेटौँडा अस्पताललाई प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सरकारले काम गरिरहेको र त्यसका लागि आन्तरिक सुधारका थप प्रयासहरु जरुरी रहेको उनले औँल्याए । अस्पताललाई व्यवस्थित बनाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थायित्व जरुरी रहेको उनले बताए । प्रतिष्ठानलाई स्थायित्व दिन सरकारले पहल गरिरहेको र त्यसका लागि ऐन संशोधनको तयारी भइरहेको उनले बताए ।

मन्त्री जोशीले हेटौँडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्डको उद्घाटन गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरूलाई लक्षित गरी मनोचिकित्सा वार्डको सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्