कोशीका मुख्यमन्त्री कार्कीले एमाले अध्यक्ष ओलीलाई भेटे

काठमाडौं, असोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका कार्कीले बालकोटस्थित निवासमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले एमालेसँग भएको सहमति अनुसार नै प्रदेश सरकार चल्ने र धोका नहुने प्रतिबद्धता जनाएको बताइएको छ ।
कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री कार्कीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई पनि निवासमै पुगेर भेटेका थिए। कार्की कांग्रेस नेता शेखरनिकट मानिन्छन्। शेखरले नै अडान लिएपछि कोशीमा कार्की मुख्यमन्त्री भएका थिए।
कोशीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर उनी खनाखत गर्न गएनन्।
प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार