विवादका बीच एनआरएनएका पदाधिकारीले लिए शपथ

काठमाडौं, कार्तिक ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भोटिङ विवादका बीच नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको छ ।
शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष बद्री केसीसहित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो ।
यसअघि निर्वाचनमा भोटिङ मेसिनको दुरुपयोग गरेर धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए ।
उनीहरुले शुक्रबार नै परराष्ट्र मन्त्रालयमा उजुरी दिनुका साथै यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएको थियो ।
शुक्रबार नै अध्यक्ष कुल आचार्य, बद्री केसी र रविना थापाले विज्ञप्ति जारी गरेर अर्को निर्णय नभएसम्मका लागि शुक्रबार तय भएको सम्पूर्ण कार्यक्रम रद्ध भएको जानकारी दिएका थिए । तर, शनिबार भने केसी पक्षले नै कार्यक्रम राखेर शपथ ग्रहण गरेको हो ।
शनिबार शपथपछि केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताएका छन् । आजै नवनिर्वाचित कार्यसमितिको बैठक पनि केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ ।
प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार